तुलसीपुरमा अडहर बारीभित्र भेटिए गाँजा तान्दै गरेका युवायुवती
तुलसीपुरमा अडहर (रहर) बारीभित्र दुई जना युवति र एक युवा भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. – ७ खर्चवा स्थित अडहर बारिभित्र लुकिछिपी गाँजा खाँदै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।

पक्राउ गरिएकाहरु बाट केही परिमाण गाँजा, एक प्याकेट चुरोट, रक्सी जस्तो एक बोतल तरल पदार्थ, आगो बाल्ने लाईट र दुई थान मोबाईल बरामद गरेको उहाँले बताउनुभयो ।अडहर बारी भित्र गाँजा खाईरहेको भन्ने गोप्य सूचनाको आधारमा सोमबार बिहान ११:३० बजेतिर उनिहरुलाई पक्राउ गरिएको हो । आफ्नो घर तुलसीपुर बताउने २६/२७ वर्षका एक युवक र १८/१९ वर्षका दुई युवतीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । स्थानीयका अनुसार त्यस क्षेत्रमा केहीदिन अघि देखी युवायुवतीको समुह नशामा लठ्ठिएर हिड्ने, उच्छृङ्खल गतिविधि गर्ने र अडहर बारिभित्र छिरेर बस्ने, धुवाँ उडाउने जस्ता क्रियाकलाप गर्दै आएका थिए ।