दाङमा अनलाइनबाट नयाँ नागरिकताको सिफारिस दिने प्रक्रिया शुरु गरिएको छ । विगतदेखि हातले लेखेको अनुसूची सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुग्ने गरेकोमा अब अनलाइनबाट फर्म भरेर नागरिकता पाइने भएको हो ।

प्रविधिको विकास भएसँगै २१ औं जिल्लाको रुपमा दाङमा नागरिकता लिन अनलाइन प्रणाली शुरु भएको हो । दाङमा शुरुमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ की सपना चौधरीले अनलाइन प्रणालीबाट सिफारिस भएको नागरिकता प्राप्त गर्नुभएको छ ।
गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत् अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत यामबहादुर बुढा मगरले जानकारी दिनुभयो । १० स्थानीय तह रहेको दाङका सबै पालिकामा प्रविधिको प्रयोग शुरु हुने उहाँले जानकारी दिनुभयो । गृह मन्त्रालयले जिल्लामा रहेका १०० वडाका सचिव र १० वटै पालिकाका सूचना प्रविधि अधिकृतलाई पुस ५ र ६ गते अभिमुखीकरण गरेसँगै घोराहीको वडा नं. ७, ८ ९ र १७ ले अनलाइन प्रविधि शुरु गरेका छन् भने देउखुरीको राप्ती, गढवा र राजपुर गाउँपालिकाका केही वडामा पनि अनलाइन शुरु भएको छ । तुलसीपुरमा तयारी भइरहेको र बंगलाचुली गाउँपालिकामा इन्टरनेट समस्याका कारण केही ढिलाइ भए पनि छिट्टै शुरु हुने अधिकृत बुढा मगरले जानकारी दिनुभयो ।यो प्रणालीमा निवेदकको माग अनुसार विवरण प्रविष्ट गरेपछि सिष्टमबाटै सिफारिस तयार हुने र सिफारिस प्रिन्ट गरेर वडाध्यक्षले सही गरेर छाप लगाएपछि सिष्टममा अपलोड गर्ने गरिन्छ ।अनलाइन प्रणाली शुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झूटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।