बाँकेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २०७८ असारसम्ममा निर्माण पूरा भएर कर्णालीका जिल्लामा विद्युत् प्रसारण भइसक्नुपर्नेमा अहिलेसम्म सुर्खेतमै पनि पुग्न सकेको छैन ।

७० करोड रुपैयाँ लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २०७६ साल असारमा सम्झौता गरिएको थियो ।
बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएकोमा यो समस्या हल भए पनि बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर, बाँनियाभारका स्थानीयवासीले आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेपछि कामले गति लिन नपाएको हो ।
बाँकेमा मात्र ४२ महिनादेखि अवरोध कायम हुँदा काम हुन नसकेको आयोजनाले जनाएको छ ।आयोजनाले अहिलेसम्ममा सुर्खेत खण्डमा ३२ किमी क्षेत्रमा टावर निर्माण सकेर तार तानी सकिएको छ । हर्रे–छिन्चु–सुब्बाकुना र कोहलपुर–चिसापानीसम्म विवादबाहेकका क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भएको प्रमुख चौधरीले बताउनुभयो ।
चौध किमी हर्रे–बबई–चिसापानी क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको छ । यो क्षेत्रमा रुख कटानको अनुमति पाएलगत्तै धमाधम रुख कटान र टावर निर्माणको काम जारी छ । अबको दुई महिनाभित्र रुख कटानको काम पूरा हुने लक्ष्य राखिएको छ ।
निकुञ्जमा ७० वटा टावरमध्ये छ वटा टावर निर्माण गर्न बाँकी रहेको छ । जेठसम्ममा वीरेन्द्रनगरमा रहेको सबस्टेशनमा विद्युत् चार्ज गर्नेगरी कामलाई तीव्रता दिइएको प्रमुख चौधरीले बताउनुभयो । आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएकोसमेत उहाँले बताउनुभयो ।
सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको छ । अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णालीका जिल्लामा सञ्चालनमा रहेको छ ।