१५ माघ
दाङको घोराही उपमहानगरपालिका न्यायिक समितिमा चालु आर्थिक वर्ष २०८१/२०८२ को ६ महिनामा ७९ वटा विवाद दर्ता भएका छन् । न्यायिक समिति घोराहीमा नयाँ ५२ र जिम्मेवारी सरेका २७ सहित ७९ विवाद दर्ता भएको हो ।

न्यायिक समितिका संयोजक घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले घरेलु हिंसाजन्य र सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिसम्बन्धी विवादका नयाँ ५२ उजुरी दर्ता भएको जानकारी दिनुभएको हो । तीमध्ये आलीधुर, बाँध, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोगसम्बन्धी एक, ज्याला नदिएको तीन, नाबालक छोरा छोरी वा पति, पत्नीलाई इज्जत आमदअनुसार खान लाउन वा शिक्षा नदिएको आठ, घर बहालसम्वन्धी दुई, सार्वजनिक स्थलको उपयोग गर्न नदिएको दुईवटा विवाद दर्ता भएका छन् ।
सरकारी, सार्वजनिक वा सामुदायिकबाहेक एकको जग्गा अर्कोले मिचेको १७, पति पत्नीबीचको सम्बन्ध विच्छेदको दुई, कुटपिटको एक, अन्य १६ र जिम्मेवारी सरी आएका २७ गरी ७९ विवाद दर्ता भएका छन् । तीमध्ये ४६ विवादमा मिलापत्र गरिएको छ भने अरु ३३ विवाद विचाराधीन रहेको छन् । यो छ महिनामा न्यायिक समितिले ५८ प्रतिशत विवाद समाधान गरेको छ ।