खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खरिद गरेर काठमाडौं पठाउनका लागि जिल्लामा खसी–बोकाको मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आइतवार बसेको समितिको बैठकले खसी–बोकाको मूल्य निर्धारण गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारका अनुसार खसीको मूल्य वृद्धि गरिएको छ भने बोकाको मूल्य घटाइएको छ । यस वर्ष जिउँदो खसीको मूल्यमा प्रतिकेजी पाँच सय ६० रुपैयाँ र बोकाको मूल्य जिउँदो प्रतिकेजी पाँच सय ४० निर्धारण गरिएको छ । सम्रगमा गत वर्षको तुलनामा जिल्लामा खसीको मूल्यमा प्रतिकेजी पाँच रुपैयाँ वृद्धि भएको छ भने बोकाको मूल्यमा दुई रुपैयाँले घटेको छ । यस वर्ष खसी २० देखि ४० केजीसम्म र बोका १८ देखि ३० केजीसम्मका मात्र खरिद गरिने प्रमुख सुनारको भनाइ छ । सेतो रँङको खसी भने खाद्यले खरिद गर्ने छैन । अघिल्लो वर्ष जिउँदो खसी २५ केजीभन्दा माथिको प्रतिकेजी पाँच सय ६२ रुपैयाँ प्रतिकेजी तोकिएको थियो । यसैगरी २० देखि २५ केजीसम्मको खसीको मूल्य प्रतिकेजी पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको थियो । १८ केजीभन्दा माथिको बोकाको मूल्य प्रतिकेजी पाँच सय ४२ रुपैया निर्धारण गरेर खरिद गरिएको थियो । खाद्यले असोज १७ गतेदेखि जिल्लामा खसी–बोका खरिद सुरु गर्ने जनाएको छ ।