१३ माघ
दाङको तुलसीपुरमा बैंकमा चोरी गरिरहेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१८ दुधरास निवासी २७ बर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर–५ मा रहेको एन.एम.बि बैंकको शाखा कार्यालयमा चोर पसेको भन्ने सूचना प्राप्त हुनासाथ इन्स्पेक्टर बिनोदराज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो ।
गएराती २ बजेको समयमा बैंकको गेटको ताला तोडेर बैंक भित्र पसेर चोरी गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले चोरी गर्न प्रयोग गर्ने हतौडा, छिना, पिलाससँगै रा ५ प ९७९ नम्बरको स्कुटीसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।