आज राति देशको पश्चिम भू–भागबाट पश्चिमी न्यून चापीय प्रणाली भित्रिने भएको छ । राति भित्रिने प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशको पश्चिम क्षेत्र र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि बदलीसहित केही ठाउँमा वर्षाको सम्भावना छ । प्रणालीको प्रभावले काठमाण्डौ उपत्यकासहित देशका पूर्वी भू–भागमा समेत बदली भए पनि वर्षाको सम्भावना भने नरहेको मौसमविद् लामिछानेले बताउनुभयो ।
भोलि बदली भएर पर्सि शुक्रवारदेखि मौसम खुल्न थाल्ने महाशाखाले सूचना निकालेर जानकारी गराएको छ ।