आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यसपाली ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।

१९९० साल माघ २ गतेको महाभुकम्पको सम्झनामा २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । नेपालमा मात्रै साढे आठ हजार जना भन्दा धेरैको ज्यान लिएको १९९० सालको भूकम्पबारेमा धेरै अभिलेखहरु पाइदैन । सुनिदै र सुनाउँदै आएका जानकारीका आधारमा त्यो विपद् निकै भयानक थियो ।
अहिलेको पुस्ताले भोगेको विनासकारी भूकम्प २०७२ सालको हो । यो भूकम्पमा पनि झण्डै नौ हजार नागरिकले ज्यान गुमाएका थिए । भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।
अझै पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी बनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन–२०७१ तर्जुमा गरिएको छ ।