१ पौष
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन कास्की प्रहरीले सरकारी वकिललाई बुझाएको छ । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी आज जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको कास्की प्रहरीका अनुसन्धान अधिकृत एवम् डीएसपी वसन्त शर्माले जानकारी दिनुभयो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् । प्रहरीले लामिछानेलाई गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेको थियो । लामिछानेलाई अनुसन्धानका लागि पछिल्लो पटक थपिएको म्याद आज सकिँदैछ । भोलि मङ्गलवार प्रहरीले पुनः म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी छ ।