समाज सुधारकको रूपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज देशभर मनाइँदै छ । सरकारले २०६६ साल मङ्सिर १६ मा उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको जन्म १९४२ साल कात्तिक २५ मा इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङको चुम्चिनाम्बामा भएको थियो । २००५ चैत २२ मा ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा उनको निधन भएको हो ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमका अनुसार किराँत धर्मावलम्बीहरूले उनलाई पृथ्वीलोकमा धर्म प्रचार र मुक्तिका लागि ईश्वरीय प्रतिनिधि (देवदूत) का रूपमा सम्मान गर्छन् । उनका अनुसार महागुरु फाल्गुनन्दले १९८८ साल वैशाख २५ मा दश लिम्बू र १७ थुमका अगुवा व्यक्तित्वहरूलाई पाँचथरको लेबे्रकुटीमा एकत्रित गराएर ‘सत्य हाङ्मा मुचुल्का’ गराएका थिए ।किराँती समुदायमा जन्म, मृत्यु, विवाह र उत्सवहरूमा भेला हुँदा अत्यधिक मदिरा र मासु खुवाउने उसबेलै चलन थियो । पशुको काटमारले मानिसमा हिंस्रक प्रवृत्ति र मदिराको अधिक प्रयोगले विकृति बढ्ने महागुरुले निष्कर्ष निकालेका उनको तर्क छ । सामाजिक रीति र संस्कारमा मदिरा, बलि र तडकभडक हटाउन सहज थिएन । त्यहीकारण महागुरुले किराँत समुदायका अग्रजहरूलाई लेब्रेकुटी भेलाको आयोजना गरेक थिए ।
विश्वबन्धुत्व र अहिंसाका महान् तपस्वी किराँत धर्मगुरु फाल्गुनन्दको धार्मिक सन्देशलाई विश्वभर फैलाउने कार्यमा उनका नाति धर्मगुरु आत्मानन्द लिङ्देनले हाल अगुवाइ गरिरहेका छन् । इलामको माङ्सेबुङस्थित लारुम्बामा धर्मगुरु आत्मानन्द लिङ्देनले स्थापना गरेका माङ्हिम अहिले किराँत धार्मिकस्थलको रूपमा प्रसिद्ध छ । पाँचथरको लेबे्रकुटी, सिलौटीलगायत स्थान फाल्गुनन्दकै कारण धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित छन् ।