दाङको तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साढे दुई महिनामा ६ करोड राजश्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१/०८२ को साउन, भदौ र असोजको २१ गतेसम्म ६ करोड राजश्व संकलन गर्न सफल भएको राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले बताउनुभयो ।

उहाँका अनुसार गएको आर्थिक वर्ष २०८०/०८१ मा साढे ३ करोड मात्रै राजश्व संकलन भएको थियो । तर, चालु वर्षमा विगत भन्दा ४० प्रतिशत बढि राजश्व संकलन भएको छ । यस वर्ष राजश्व बृद्धि हुने अनुमान गरिएको छ । राजश्व चुहावट रोक्नुकासाथै सरसफाई, ब्यबसायलगायतका कर लिन थालिएकाले पनि यस वर्ष बढ्ने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो ।“मेरो लक्ष्य भनेको फजुल खर्च कम गर्ने र राजश्व संकलन बृद्धि गर्ने नै हो, त्यही अनुसार नै सुरुदेखि कदम चालेँ”,उहाँले भन्नुभयो“त्यसले गर्दा पनि सुरुको दुई महिनामा उल्लेख्य रुपमा राजश्व संकलन भएको छ ।” चालु बर्षमा ५० करोड राजश्व संकलन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।