नेपालगञ्जको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका हुन् ।

काटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताइन् ।करिब छ कट्ठा जमिनमा लगाएको महेन्द्र छ सय छ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुशी व्यक्त गरिन् । यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्याएको उनले जानकारी दिइन् ।राप्तीसोनारी–३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए।वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण सङ्कलन गर्न लागिएको बताए। उनका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।