भन्सार र सीमा नाकामा कडाइ गर्न रुपन्देहीका व्यापारिक संघ संस्थाले सरोकारवाला निकायसँग माग गरेका छन् ।
रुपन्देहीमा क्रियाशील चार व्यावसायिक संस्थाहरुले कमजोर भन्सार नियमन र खुला सीमाबाट हुने चोरी निकासी कारोवारले राजश्व संकलन र नेपाली बजारको कारोवारमा असर गरेको भन्दै त्यसलाई रोक्न भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले बिहीबार संयुक्तरुपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै कडाइसाथ भन्सार नियमन नगरिदा तथा खुला सीमाबाट भइरहेको अवैध कारोवारले सरकारको राजश्व संकलनमा असर पर्नुकासाथै निजी क्षेत्रका व्यवसायीहरुको व्यवसायलाई समेत प्रभाव पारेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाइ गर्न आग्रह गरेका छन् ।

सो अवसरमा ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रेग्मीले सीमाबाट हुने अवैध कारोवार र भन्सार नाकाहरुमा देखिएको सुस्तताप्रति आफू सचेत रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्ने कुरामा आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै सीमा क्षेत्रको सुरक्षा प्रबन्धमा देखिएका कमजोरीमा सुधार गर्दै कुनै पनि प्रकारका अवैध धन्दालाई निरुत्साहित गर्ने कुरामा आफू जिम्मेवार बनेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।