तराई/मधेशमा केही दिनदेखि बिहान/बेलुका हुस्सु र कुहिरो लाग्ने गरेको छ । हुस्सु र कुहिरो लागेको बेलामा गाडी दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले कुहिरो तथा हुस्सु लागेका बेला सम्भावित जोखिम क्षेत्रमा सामान्य गतिमा गाडी चलाउन र बत्तीको प्रयोग गर्न अनुरोध गरेको छ ।
कार्यालयका सहायक हवल्दार सतिश ठाकुरका अनुसार बाक्लो हुस्सु र कुहिरो लागेका बेला राजमार्ग तथा भित्री बाटोमा गाडी चलाउँदा चालकलाई अनिवार्य हेडलाइट, इमर्जेन्सी लाइट बाल्न सचेत गराइएको छ । चालक सचेत भएमा सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।हुस्सु र कुहिरोले दृश्य कमजोर र बाटो चिप्लो भएपछि गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा गाडीको आवागमन प्रभावित भएको थियो ।