आज ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् ।
उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ ।
महासङ्घले विपद् व्यवस्थापन र मानवीय सङ्कटको अवस्थामा काम गर्ने अन्तर्राष्ट्रिय निकाय र गैरसरकारी संस्थाका कामहरूलाई अपाङ्गता समावेशी बनाउन पैरवीको आवश्यकता औँल्याइएको छ ।