घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित उपमहानगर बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।उपमहानगरले हालसम्म लैंगिक हिंसा नियन्त्रित घोषणा कार्यविधि २०८० निर्माण गरेको, सरोकारवालाहरुको प्रतिवद्धता लिने र नगर तथा वडास्तरमा समिति निर्माण गर्ने क्रम भइरहेको छ ।

उपमहानगरपालिकाले २२ आधारभूत र १० संस्थागत सूचक तयार गरी सबै सूचक पूरा गर्न विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ । सञ्चार क्षेत्रबाट सूचकको लक्ष्य पूरा गर्न प्रोत्साहन गर्ने, लैंगिक हिंसा हुन नदिन र भए कानुनी दायरामा ल्याउन सचेतनाका लागि भूमिका खेल्ने, सरोकारवालाहरुलाई सचेत र खबरदारी गर्ने समेतको कार्य गर्न सक्ने अन्तत्र्रिmया कार्यक्रममा छलफल भएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष एवं विषयविज्ञ दुर्गालाल केसीले सञ्चार माध्यमले अभियानमा खेल्न सक्ने भूमिकाका विषयमा पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो । घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास शाखा संयोजक राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक हुमाकुमारी डिसीले अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको सहयोगको अपेक्षा गर्नुभयो । बालमैत्री उपमहानगर बनाउन सञ्चार क्षेत्रको भूमिकाको प्रसंशा गर्दै उहाँले अब लैंगिक हिंसा नियन्त्रित पालिका बनाउने अभियानमा पनि उत्तिकै भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव आचार्य, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापा, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार लक्ष्मी आचार्यलगायतका पत्रकारहरुले जिज्ञासा राखेका थिए । सो अवसरमा पत्रकारहरुले घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।