कैलालीको टीकापुरमा किशोरीहरूलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान चलिरहेको छ ।

टीकापुर नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । नगरपालिकाका दश वर्षमाथिका सबै किशोरीलाई आइरन चक्की र जुकाको औषधि खुवाइन्छ ।शुरूमा विद्यालयमा आइरन चक्की खान डराउने किशोरीहरू आजभोलि नियमित खान थालेका छन् । विद्यालयमा हरेक आइतवार आइरन चक्की खुवाउनेसँगै किशोरीको स्वास्थ्य र पोषिलो खानाबारे शिक्षकले जानकारी दिने गरेका टीकापुर नगरपालिका रामपुर शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी दीपेन्द्र पनेरुले बताउनुभयो ।
किशोरीहरूलाई विद्यालयमा आइरन चक्कीसँगै समय समयमा जुकाको औषधि पनि खुवाइन्छ ।महिनावारी हुने भएकाले शरीरमा रगतको अभाव हुनसक्ने भएकाले आइरन चक्की खुवाउने अभियान प्रभावकारी बन्दै गएको अस्नेहरी शहरी स्वास्थ्य केन्द्रका सिनियर अहेव सकुन्तला रोकायाले बताउनुभयो ।