नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ भन्दै खातासम्बन्धी विवरण माग्ने व्यक्तिबारे सूचना दिन आग्रह गरेको छ । खाता विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै प्रहरीले सचेत गराएको हो ।

सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले अहिले ह्याकरले बैङ्कका कर्मचारी बनेर ठगीका गतिविधि बढाएका बताउनुभयो । यसअघि चिट्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभन देखाएर रकम ठगी हुने गरेको थियो । कुनै पनि बैङ्कका कर्मचारीले फोन गरेर विवरण नमाग्ने भन्दै बोगटीले यस प्रकारका ठगीका घटनाका उजुरी धेरै बढेकोले नागरिक पनि सचेत हुनुपर्ने बताउनुभयो ।
सिआइबीले निकालेको सूचनामा अनलाइन ठगी÷बैङ्किङ ठगी कसुरबाट बच्न सचेत हुनु भनिएको छ । राष्ट्र बैंकले पनि पटक–पटक बैङ्कका कर्मचारीहरुले खाता विवरण नमाग्ने बताउँदै आएको छ ।