प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो ।

काउन्सिलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफ्वाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउने विरुद्ध कारवाही तिव्र पारिएको जनाएको हो ।काउन्सिलले साउन यता मात्र आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने ३ वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको छ । त्यस्ता सञ्चारमाध्यम राज्य तहबाट पाइने कुनै पनि सुविधा पाउनबाट वञ्चित हुनेछन् । कालोसूचीमा पर्ने सञ्चारमाध्यममा एबीपीक्राइमन्यूज डट कम, टीभिअन्नपूर्ण डटकम र सेतोखरी डटकम छन् । यो आर्थिक वर्षमा ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामाग्री काउन्सिलले स्वअनुगमन गरी कारवाही गरेको छ ।
विज्ञप्तिमा मिडियाअन्तर्गत सञ्चालनमा रहेका तर आचासंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन सञ्चारमाध्यमलाई हटाउन निर्देशन दिई सचेत गराइएको, अरु ५ वटा माध्यमका विवादास्पद सामग्री हटाइ स्पष्टीकरण सोधिएको उल्लेख छ ।
त्यस्तै, ४ वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवं सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ । त्यस्तै, विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका अनलाइनपाना डटकम, दियोपोष्ट डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानी गरेको जनाइएको छ । विभिन्न खालका कारवाहीमा परेका सबै सञ्चारमाध्यमको विस्तृत विवरण काउन्सिलले आफ्नो वेबसाइटमा समेत राखेको छ ।