कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् तर त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयौ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलोले नै यसको संकेत गर्दछ । तिनै कम्प्युटरमा लागेको धुलो सफा गरेर वन्द रहेका कम्प्युटर सुचारु गर्नका लागि दुई जना युवाहरुलाई हम्मे हम्मे परेको छ । तर दुइदिनको निरन्तर खटाइ पश्चात कम्प्युटर ल्याबमा रहेका कप्प्युटर सफा मात्रै भएनन् बन्द अवस्थामा रहेका कम्प्युटर सञ्चालनमा समेत आए र केयौ दिनपछि विद्यार्थीहरुले कम्प्युटरका किबोर्ड थिच्न थाले ।

थवाङ्ग रोल्पामा रहेको विर बलभद्र माध्यमिक विद्यालयमा विग्रेर थन्किएका कम्प्युटरहरु तुलसीपुर मेट्रो कलेजमा आइटि अध्ययन गर्ने विद्यार्थीहरु आशिष चौधरी र अमित केसीले विद्यालयमै पुगेर मर्मत गरेका हुन् । एउटा विद्यालयको आवश्यकतालाई अर्को विद्यालयले पुरा गर्नका लागि सहयोग गर्ने परम्परा बसाल्नका लागि कलेजले यस्तो अभियान सञ्चालन गरेको हो ।विद्यालयको आर्थिक स्रोत सिमित हुने भएकाले कम्प्युटर मर्मतका लागि समस्या उत्पन्न भएको अवस्थामा कलेजले नै व्यवस्थापन गरेर मर्मत गरिदिदा नियमित ल्याब सञ्चालन गर्न सहज भएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर ओलीले बताए ।विद्यालयमा कम्प्युटर सामान्यरुपमा मात्रै विग्रिएको हुँदा अधिकांश कम्प्युटर मर्मत गरेपछि सञ्चालनमा आएको पनि विद्यालयका प्रधानाध्यापक ओलीले बताए । विद्यालयको केही डेस्क बेन्च पनि भाचिएकाले मेकानिकल अध्ययन गर्ने विद्यार्थीहरुलाई परिचालन गरेर मर्मत गरिने कलेज प्रमुख आचार्यले बताए ।