दाङमा अधिकतम तापक्रम घट्न शुरु गरेसँगै चिसो बढेको छ ।मंगलबार दाङको अधिकतम तापक्रम १९ दशमलव छ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रम ११ दशमलव नौ डिग्री थियो । मंगलबार अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम घटेको थिएन तर सोमबार न्यूनतम तापक्रम पनि घटेको थियो ।

यस वर्षको सबै भन्दा कम अधिकतम तापक्रम पुस ९ गते १६ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । त्यस दिन न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस थियो । यस वर्ष सबै भन्दा कम न्यूनतम तापक्रम मंसिर २८ गते मापन भएको थियो । त्यस दिन न्यूनतम तापक्रम चार दशमलव ९ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।अधिकतम तापक्रम घट्ने क्रममा रहेकोले चिसो महसुस बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय घोराहीकी प्रमुख श्रेया रिजालले बताउनुभयो । उहाँले गत वर्ष सबै भन्दा कम तापक्रम माघमा भएको बताउँदै यस वर्ष माघ पूरै बाँकी रहेकोले चिसो अझै बढ्ने अनुमान भएको बताउनुभयो ।