प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम (५) मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ ।जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ नौ लाख ३३ हजार ७६० बराबरको अवैध सामग्रीसमेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।
जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मङ्सिरमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरूलाई सात वर्ष दुई महिना २० दिन कैद र रु आठ लाख ६३ हजार ८०० जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयमा महिला बालबालिकासँग सम्बन्धित छ मुद्दा दर्ता हुँदा छ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छभने घरेलु हिंसासम्बन्धी दर्ता भएका ५० उजुरीमा ३६ उजुरी फर्छ्यौट गरिएको छ ।
चौध उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फको १० निवेदनमा छ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन् ।
ट्राफिक प्रहरीको कारबाहीतर्फ मङ्सिरमा मात्रै दुई हजार ८८६ सवारी साधनलाई कारबाही गर्दै २४ लाख ७१ हजार ५०० राजस्व संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मङ्सिर २८ गते मात्रै १५० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको थियो ।