आज डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ ३७औँ विश्व एड्स दिवस मनाइँदै छ । नेपालमा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।

सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । केन्द्रका निर्देशक डा. शर्माले अझै झन्डै करिब पाँच हजार सङ्क्रमित उपचारभन्दा बाहिर रहेका र ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले एचआइभी सङक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो ।नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशिने रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अरू जोखिम समूहभन्दा उच्च रहेको छ ।