दाङमा तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गत वर्ष दाङमा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । त्यसबाट १६ हजार नौ सय ४३ दशमलव तीन मेट्रिक टन तोरी उत्पादन भएको उहाँ बताउनुहुन्छ । गत वर्षको तुलनामा यस वर्ष अझ उत्पादन बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

यस वर्ष १६ हजार चार सय ८७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने त्यसबाट १७ हजार आठ सय ६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी लामिछानेको भनाइ छ । यस वर्ष गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ ।तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ । तोरीखेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।