राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङबाहेक दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले एमबिबिएसको पढाइ सुरुगर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो ।

प्रतिष्ठानले आफ्नो पहलमा होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमबिबिएस चिकित्सक नियुक्त गरेर पठाउन लागेको छ । एमबिबिएस चिकित्सकको ब्यवस्था भएमा त्यहाँका जनताले २४ सैँ घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनुभयो । एमबिबिएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटि आउट रिच सेन्टरकोरुपमा रहने गरी ब्यवस्थापन गर्ने भएको हो ।
प्रतिष्ठानका रजिष्ट्रार लम्सालले होलेरीमा एमबिबिएस चिकित्सक राखेर सेवा प्रवाह दिन सुरु गरिने र एमबिबिएस चिकित्सकको अभाव हुन नदिइने पनि बताउनुभयो । गएको असारदेखि होलेरी अस्पतालमा एमबिबुएस चिकित्सकको नहुँदा विरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने वाध्यता रहेको थियो । उहाँले निकट भविष्यमा होलेरीमा नै प्रतिष्ठानबाट पास गर्ने एमडिपिजिपि चिकित्सक पठाएर विशेषज्ञ सेवा सुरु गर्ने आफुहरुले लक्ष्य रहेको बताउनुभयो ।