प्रतिकूल मौसमले हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाण्डौबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । काठमाण्डौ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन ।
उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ ।काठमाण्डौबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ ।देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।
बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू-भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यका विभिन्न ठाउँमा हल्का वर्षा भइरहेको छ ।