देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । अहिले कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परेको छ । दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आजदेखि आउँदो आइतवारसम्म ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । महाशाखाले विशेष बुलेटिन निकालेर आइतवार बिहानसम्म सातवटै प्रदेशमा आरीघोप्टे पानी पर्ने चेतावनी दिएको छ । यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् रेड अलर्टमा राखेको छ ।महाशाखाले रेड अलर्ट अर्थात् उच्च सावधानी अपनाउनुपर्ने भनेर सूचीकृत गरेको जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् ।

यस्तै, सिरहा, सप्तरी र पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लालाई पनि उच्च सावधानी अपनाउनुपर्ने जिल्लामा राखिएको छ । म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाममा पनि उच्च सावधानी अपनाउन महाशाखाले भनेको छ ।