२३ माघ
स्वर्गद्वारी गुठी पीडित मोही किसानले वर्षौँदेखि आफुले जोतभोग गरेको जग्गाको लालपूर्जा पाउनुपर्ने मागसहित काठमाडौँको माईतीघरमा ४ दिनदेखि धर्ना बसेका किसान माग पूरा गर्न सरकारले बेवास्ता गरेको बताएका छन् । शान्तिपूर्ण आन्दोलन चौँथो दिनमा प्रवेश गरि सक्दासमेत सरकारी निकायबाट कुनै खोज खबर नगरिएको उनीहरूको गुनासो छ । दाङमा तीन हजार पाँच परिवार स्वर्गद्वारी गुठीका मोही छन् ।

उनीहरूले एक हजार ५० बिघा जमिन जोतिरहेका छन् । आफ्नो नामको लालपूर्जाको खोजीमा ३९ जना किसान काठमाडौँ आएका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति दाङका सहसचिव एवम् प्रवक्ता प्रविण दहितले माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो । स्वर्गद्वारी गुठीअन्तर्गतको जग्गा जोतिरहेका किसानले २०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएका थिए । पटकपटक सरकारसँग सहमति भएपनि कार्यान्वयन नभएपछि मोही किसान काठमाडौँ आएका हुन् ।