१५ माघ
दाङको तुलसीपुरमा एकजना शिक्षक दिनदहाडै लुटिएका छन् । सल्यान घर भई अहिले तुलसीपुरको टरिगाउँमा बस्दै आएका टोपलाल बिक दिउँसै तुलसीपुरको व्यस्त बजारमै लुटिएका हुन् । तुलसीपुरको सप्तरंगी बोर्डीङ स्कुलमा पढाउदै आएका बिकले टरिगाउँबाट बिद्यालय जादै गरेको अवस्थामा तुलसीपुर बजारमा आज बिहान युवाहरुको समुहले लुटपाट गरेको बताउनुभयो ।

लुटेराहरुको समुहले आफुलाई धम्काएर ५ हजार रुपैया लिएको उहाँको भनाई छ । चक्कु देखाएपछी ज्यान नै खतरामा पर्ने देखेर एकछिन होसै बन्द भएको महसुस भएको उहाँले बताउनुभयो । जसले गर्दा आफुले केहीपनि भेउ नपाएको उहाँले बताउनुभयो । दिउँसै तुलसीपुर बजारमा यस्तो घटना होला भनेर कल्पना पनि नगरेर आफ्नै सुरमा हिडेको अवस्थामा यस्तो हुनु दुखद रहेको भन्दै उहाँले लुटेराहरुलाई कारवाही हुनुपर्ने बताउनुभयो । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले भने यस घटनाबारे प्रहरीलाई जानकारी नआएको बताउनुभएको छ । पिडितलाई कार्यालयमा पठाईदिन आग्रह गर्दै डीएसपी ठकुरीले घटनाबारे बुझेर आवश्यक खोजतलास तथा कारवाही प्रकृया अगाडी बढाउने बताउनुभयो ।