स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले विपद् र स्वास्थ्य आपत्कालीन अवस्थामा सेवालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ । त्यसका लागि अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई मुख्य प्राथमिकता दिएको मन्त्रालयका प्रवक्ता एवम् व्यवस्थापन एकाइका प्रमुख डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरूपता ल्याउने भन्ने उद्देश्यले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकेको उहाँले बताउनुभयो ।
त्यस्तै गण्डकी र बाग्मतीका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि तालिम दिइँदैछ । विगतमा गोरखा भूकम्प, जाजरकोट भूकम्प, कोभिड–१९ महामारीलगायतका विपद् र महामारीका बेला उपलब्ध सेवा निकै सकारात्मक रहेका डा. बुढाथोकीले बताउनुभयो ।यही निर्देशिका अनुसार मन्त्रालयले अस्पताललाई हब र स्याटेलाइटमा वर्गीकरण गरेको हो ।