लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको साथमा रहेको बताएका छन्।गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किसानहरुको जीवनस्तर सुधार्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन र बजारीकरणमा साझेदारी गरिरहेको बताएका हुन्।

गढवा गाउँपालिकाले गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना सञ्चालन गरेको छ। यही परियोजनाअन्तर्गत १०३ किसानले बाख्राको पहिलो पुस्ता उपहार दिएका हुन्।
प्रदेश सरकारले आगामी वर्ष धेरै पालिकासँग साझेदारी गरेर किसानहरूको जीवनस्तर उकास्न कार्यक्रम अघि बढाउने जानकारीसमेत दिए। उद्यमी महिलाहरूलाई पनि उत्पादन प्रक्रियामा समावेश गराई आत्मनिर्भर बनाउन सरकारले विशेष प्रयास गरिरहेको उनले उल्लेख गरे।
उत्पादन भएका कृषिजन्य उपजको बजारीकरण गर्न संकलन केन्द्रहरू उपयोगी हुने र आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमहरू महत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ।