प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भए पनि कानूनअनुसार कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदन बुझेको भोलिपल्ट आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले जग्गा त्रिवि मातहत ल्याउने र हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको हो । आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न गएको जेठ १८ गते पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेटेर हिजो अध्ययन प्रतिवेदन बुझाएको हो ।
त्रिविको एक हजार रोपनी जग्गा हिनामिना भएको आयोगको ठहर छ । त्रिविको तीन हजार सात सय रोपनी जग्गामध्ये एक हजार रोपनी जग्गा विभिन्न सङ्घ–संस्थाले प्रयोग गरिरहेको पत्ता लगाएको आयोगले जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको ठहर गरेको छ ।