दाङको नेपाल भारत सीमा क्षेत्र खांग्रा नाकामा अन्तर स्थानीय तह स्तरीय घुम्ती बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिका सदस्य कमला वलीको प्रमुख आतिथ्यतामा मंगलबार राजपुर गाउँपालिका वडा नम्बर ६ को खांग्रानाकामा अन्तरपालिकास्तरीय घुम्ती बैठक सम्पन्न भएको हो ।

बैठकमा पालिका प्रतिनिधिहरुले हालसम्म गर्दै आएका असल अभ्यासका बारेमा जानकारी गराउँदै देखा परेका समस्या, कानूनी जटिलताका बारेमा जानकारी गराउनुभएको थियो । पालिकाका प्रमुख, उपप्रमुखहरुले नदीजन्य पदार्थको उत्खनन्, व्यवस्थापनमा बारम्बार समस्या देखा परिरहेको हुँदा यसको दिगो समाधानको उपाय निकाल्नु पर्ने आवाज उठाएका थिए ।बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी, दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पीमाकुमारी खड्का, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीलगायतले पालिकाहरुबाट भइरहेका काम र देखा परेका समस्याहरुको बारेमा निकास खोज्न समन्वय बैठकमार्फत आग्रह गर्नुभएको थियो ।राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवको स्वागतबाट शुरु भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले पालिकाले गर्दै आएका असल अभ्यास, उपलब्धि र चुनौतीबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका विमला पाण्डेले गर्नुभएको थियो । जिल्ला समन्वय समितिको सहजीकरणमा जिल्लाका पालिकाहरुले समन्वयात्मक घुम्ती बैठक बस्दै आएको छ । अब आगामी बैठक बबई गाउँपालिकामा बस्ने भएको छ ।