नेपाल राष्ट्र बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा बढेर आर्थिक वर्ष २०८०–८१ को खुद नाफा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ पुगेको उल्लेख छ ।राष्ट्र बैंकले विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन लगायतबाट नाफा तय गरेको हो ।यसैबीच बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रुपैयाँ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।गएको असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले बढेर २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।