प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्नुको विकल्प नरहेको बताउनुभएको छ । राजमार्ग अलपत्र हुँदा लामो समयदेखि यात्रु, चालक र सडक वरपरका स्थानीयवासीले दुःख पाएको विषयमा जानकार रहेको जनाउँदै प्रधानमन्त्री ओलीले सरकारले यो विषयमा चाँडै उचित निर्णय लिने बताउनुभएको हो ।

सडक खण्डमा निर्माणको काम रोकिएको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम शुरू नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभयो ।चाइना स्टेट कम्पनीसँग याे सडक खण्ड २०७९ साल साउन २२ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ साल चैत ८ गते ठेक्का सम्झौता भएको थियो । झन्डै १७ अर्ब रुपैयाँ लागतको बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको तेस्रो पटक म्याद थप्दा पनि प्रगति भने ५२ प्रतिशत मात्रै रहेको छ । चिनियाँ कम्पनीले अहिले आएर ठेक्का रकमले काम गर्न नसकिने भन्दै थप रकम मागेर काम ठप्प बनाएको छ ।