राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सुचना नदिनेलाई कारवाही हुने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको आयोजनामा आज तुलसीपुरमा भएको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ । सार्वजनिक सरोकारका सूचना दिन्न भनेर पञ्छिन नमिल्ने भन्दै उहाँले सूचना नदिनेलाई आयोगले कारवाही गर्ने बताउनुभयो । यसका लागी सूचना माग गर्ने व्यक्तीले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिनुपर्ने उहाँको भनाई छ । अन्तरक्रिया कार्यक्रममा पत्रकार तथा सामाजिक अभियान्ताहरुले कतिपय सार्वजनिक निकायहरुले सूचना अधिकारी नतोकेको, माग गरेको उपलब्ध नगाराएको, आनकानी गर्ने गरेको लगाएतका गुनासो तथा जिज्ञासाहरु राखेका थिए ।

सूचना अधिकारी तोक्ने, प्रत्यक ३/३ महिनामा आफुले गरेका कामकारवाहीहरु सार्वजनिक गर्ने र कुनैपनि नागरिकले माग गरेको सूचना उपलब्ध गराउने हो भने सूचनाको हक स्वतः कार्यान्वयन हुने उहाँको भनाई छ । सबै कार्यालयहरु जिम्मेवारी बनेर सूचनाको हकको प्रत्याभुती दिन सक्ने हो भने कसैैले पनि अयोगबाट कारवाही भोग्न नपर्ने भन्दै यसतर्फ सचेत बन्न आग्रह गर्नुुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले सूभकामना मन्तव्य राख्नुभएको थियो ।