ओमप्रकाश गुप्ता
भालुवाङ ३ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिका- ८ लाहापेमा दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सव शुक्रबार देखि सुरू भएको छ । शितगंगा संस्कृतिको माैलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा महोत्सव सुरू भएको हो ।

क्लवका अध्यक्ष मोहन थापाको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेको प्रमुख आतिथ्यता भएको महोत्सव उद्घाटन समारोहमा बोल्दै मन्त्री न्याैपानेले अर्घाखाँचीको पर्यटक विकासका लागि त्यस क्षेत्रको विकासका लागि योजना बनाउन आवश्यक रहेको बताउनुभयाे । उहाँले साना साना योजनामा लगानी लगाउनु भन्दा एउटा/ दुईवटा ठुला योजनामा लगानी लगाए मात्र देखिने गरि उपलब्धि हुने बताउनुभयाे । त्यसका लागि प्रदेश सरकारले लगानी लगाउन तयार रहेको बताउनुभयाे । साथै मन्त्री न्याैपानेले अर्घाखाँची जिल्ला धार्मिक तथा पर्यटनका हिसावले सम्भावना बोकेको जिल्ला भएकाले पर्यटनको हवको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयाे ।
त्यस्तै मन्त्री न्याैपानेले आयोजकहरूलाई उद्देश्य बनाएर मात्र मेला महोत्सव सञ्चालन गर्न सुझाव दिनुभयाे। मेला महोत्सवको उद्देश स्पष्ट नहुँदा आलोचित हुनु भन्दा उद्देश स्पष्ट हुन जरूरी रहेको बताउनुभयाे । मन्त्री न्याैपानेले युवाहरूलाई पुराना पुस्ताले संस्कार संस्कृति हस्तान्तरण गर्न नसक्नु दुखद भएको बताउनुभयाे । त्यसका लागि युवा पिढी जागरुक हुन आवश्यक रहेको बताउनुभयाे ।मन्त्री न्याैपानेले नेपालमा केही पनि छैन, केही गर्न सकिदैन भन्दै विदेश पलायन भइरहेको हुँदा अवको १० वर्षमा बुढापाखाहरूको मात्र देश रहने भएको हुँदा अब योजना बनाउन आवश्यक रहेको बताउनु ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना बुढा, नेकपा माओवादीका रङबहादुर सुनार, शितगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिमबहादुर केसी, देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधान सम्पादक सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे । स्थानीय कला, संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा १ सय बढी स्टल राखिएको छ । भने करिव २०-२५ लाख करोबार गर्ने लक्ष्य रहेको महोत्सवमा करिव ५० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिनुभयाे । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । भने स्थानीय स्तरका विभिन्न भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती रहने छ । महोत्सवमा चर्खे पिङ, झुला, बाल उद्यान राखिएको छ । भने महोत्सव अवधीभर राप्तीमा बोटिङ रहने छ । भने शितगंगा आइडल रहने बताइएको छ ।
महोत्सव उद्घाटनका दिन १५ वटा विभिन्न भाषाभाषी तथा संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य यागेश्वर गिरीले गर्नु भएकाे थियाे । महोत्सव कार्तिक २ देखि १४ गते सम्म सञ्चालन हुने भएको छ । यसै बीच महोत्सवको दोस्रो दिन चर्चित गायक सुमन बिटी, हास्य कलाकार तथा गायिका नबिना सिलवाल (खुइली), मोडलहरू रितु गुरूङ, उदघोषक दिपक बर्मा, वर्षा पाण्डे आउने मेला व्यवस्थापक हिरा हमालले बताउनु भयो ।