१६ माघ
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले चामल र चिनीको बिक्री मूल्य घटाएको छ । चामलमा प्रतिबोरा ७५ रुपैयाँ र चिनीमा प्रतिकिलो ५ रुपैयाँका दरले मूल्य घटाएको खाद्य कम्पनीले जनाएको छ ।

मूल्य घटेसँगै कम्पनीले २५ किलोको प्रतिबोराको मूल्य दुई हजार एक सय ७५ मा बिक्री गरिरहेको कार्यालयका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । यसअघि खाद्य संस्थानले स्टिम जिरा मसिनो चामल प्रतिबोराको मूल्य दुई हजार २ सय ५० रुपैयाँमा बिक्री गदै आएको थियो । अहिले प्रतिबोरामा ७५ रुपैयाँले मूल्य घटाएको प्रमुख सुनारले जानकारी दिनुभयो ।
बजारमा अहिले स्टिम जिरा मसिनो चामलको अत्यधिक माग रहेको उहाँको भनाइ छ । उपभोक्ताहरुको मागलाई सम्बोधन गरेर चामलको मूल्य घटाएको हो । यस्तै खाद्य संस्थानले चिनीको मूल्य पनि प्रतिकिलो ५ रुपैयाँका दरले घटाएको छ । प्रतिकिलो १ सय ५ रुपैयाँमा बिक्री गर्दै आएको चिनी अहिले प्रति किलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ ।