१४ माघ
दाङको राप्ती गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले साेमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध कायम गरिएको हो । गाउँपालिका अध्यक्ष र महानगर पालिका प्रमुखले विभिन्न ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गर्नु भएको हो ।
शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, पूर्वाधार, संस्कृति, संयुक्त उद्यम, भौतिक तथा आर्थिक सहयोग लगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको हो ।समझदारी पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीय स्थलको स्थानीय तवरबाट प्रचार-प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकापसमा बजारीकरण गर्ने, उद्यमशीलताको वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्ने लगायतका बुँदा रहेका छन् ।भरतपुर महानगरका प्रमुख दाहालले भगिनी सम्बन्ध कायमसँगै अब दुई पालिकाबीच सहयोग आदानप्रदान हुने बताउनुभयो । राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले राप्तीको सम्भावनालाई उजागर गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भरतपुरको विकास र अनुभव साटासाट गर्ने वातावरण बनेको उहाँको भनाइ थियो ।