२४ पुस,
नेपाल राष्ट्र बैंकले कर्जा असुली गर्दा लघुवित्त वित्तीय संस्थालाई ऋणीमाथि ज्यादती नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त सञ्चालन मार्गनिर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

योसँगै अब ऋणी समूह बैठक वा कार्यालयमा तीन पटकभन्दा बढी समय अनुपस्थित भए मात्रै लघुवित्तका कर्मचारी ऋणीको घरमा जान पाउनेछन् । अन्यथा, एकपटक किस्ता अनियमित भएमा र ऋणी बैठक वा कार्यालयमा अनुपस्थित भएकै आधारमा लघुवित्तका कर्मचारी ऋण असुलीका लागि भन्दै ऋणीको घरमा जान पाउने छैनन् ।
त्यस्तै, कर्जा असुलीका क्रममा लघुवित्तका कर्मचारीलाई ऋणीमाथि कुनै पनि किसिमको कठोर विधि नअपनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
त्यस्तै, ऋणीमाथि धम्कीपूर्ण र अपमानजनक भाषा प्रयोग नगर्न, अनावश्यक रुपमा ऋणीलाई फोन नगर्न र ऋणीको परिवार, साथी तथा सहकर्मीको अपमान हुने कुनै पनि गतिविधि नगर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।