१२ पुस । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनासम्म जम्मा १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ १९ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ जम्मा साढे १० प्रतिशत बजेट खर्च भएको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ । जसमा अहिलेसम्म पाँच अर्ब ३९ करोड ६८ लाख ६४ हजार ९०३ रुपैयाँ खर्च भएको हो । पुँजीगत र चालु गरी मंसिर मसान्तसम्म १३ दशमलव ८५ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ ।

पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा पाँच महिनामा जम्मा दुई अर्ब ५९ करोड ४३ लाख ९२ हजार ७६५ रुपैयाँ खर्च भएको छ । यस्तै, चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा दुई अर्ब ८० करोड २४ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय छन् ।चालु आर्थिक वर्षको ५ महिनामा उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगत खर्च एक दशमलव ६६ प्रतिशत छ । यस्तै, सामाजिक विकास मन्त्रालयको एक दशमलव ७८ प्रतिशत, वन तथा वातावरण मन्त्रालयको दुई दशमलव ८६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दुई दशमलव ९२ प्रतिशत पुँजीगत खर्च छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पुँजीगत खर्च पाँच महिनामा नौ दशमलव ४६ प्रतिशत छ भने खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको १२ दशमलव ५७ प्रतिशत छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले १४ दशमलव ५५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च आठ दशमलव ६२ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । भौतिक पूर्वाधारमन्त्री भुमिस्वर ढकालले पुँजीगत बजेट खर्च हुने बेला आउँदै गरेको बताउनुभयो ।