पुस १०
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका कर्मचारीले विभिन्न माग राखेर निरन्तर आन्दोलन गरिरहेका छन्। विभिन्न ७ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका कर्मचारीका कारण मेडिकल कलेजको सेवा प्रभावित भएको छ। १५ दिनदेखि चलेको आन्दोलनले मेडिकल कलेजको आपतकालीन सेवाबाहेक सबै सेवा बन्द भएका छन्।

६ महिनाअघि ज्ञापनपत्रमार्फत आफ्ना माग प्रस्तुत गरेका कर्मचारी मागको कुनै पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन किमिटीका संयोजक सुमन गिरी श्रेष्ठले बताइन्।
२०८१ असार ४ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल स्वास्थ्य तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापा र लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनका सभापति एवं वार्ता कमिटीका संयोजक रत्ना गिरीले हस्ताक्षर गरेर ७ बुंदे माग प्रस्तुत गरेका थिए।
उनीहरुको मागमा तलव तथा भत्ता महँगी अनुरुप परिमार्जन गर्नुपर्ने, दरबन्दी सिर्जना, पदपूर्ति, पदोन्नति, स्थायी र नियुक्ति, अवकाश, उपदान, सामाजिक सुरक्षा कोष, शेयर र कर्मचारी कल्याणकारी कोष, स्वास्थ्य उपचार खर्च एवं सुविधा, हाजिरी र विदा, अध्ययन एवं तालिम, संस्थागत सुधार तथा विविध विषयमा आफ्ना माग अघि सारेका छन्।
कर्मचारीले निरन्तर आन्दोलन गरिरहदा पनि अस्पताल प्रशासनले कुनै सुनुवाई गरेको छैन।आन्दोलन कमिटिका संयोजक श्रेष्ठले महँगी अनुसारको सेवा सुविधाको माग राखेर आन्दोलन थालेको बताइन्। उनले आन्दोलन भएको यत्तिका दिन हुंदा पनि अस्पताल प्रशासनले कुनै सुनुवाई नगरेको बताइन्।
संस्थाले २७ वर्षदेखि घाटामा रहेको बताउँदै कर्मचारीको मागलाई बेवास्ता गर्दै आएको छ। नेपालगन्ज, कोहलपुर र चिसापानीमा गरेर लर्ड बुद्ध एजुकेशनलमा एक हजार पांच सय कर्मचारी रहेका छन्।