१० पौष । दाङको तुलसीपुरमा मापसे जाँच गर्ने ब्रेथ लाइजर मेसिन नहुदा ट्राफिक प्रहरीलाई समस्या भएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई जाँच गरेर कारवाही गर्नुपर्ने भएपनी ब्रेथ लाइजर मेसिन नहुदा पत्ता लगाउन समस्या भएको हो ।

प्रत्यक दिन साँझ करिब ७ बजेदेखी राती ११ बजेसम्म तुलसीपुरका विभिन्न स्थानमा सवारी जाँच सँगसँगै मापसे जाँच हुदै आएको छ । तर, मापसे गरे नगरेको पत्ता लगाउने ब्रेथ लाइजर मेसिन साथमा नहुदा ट्राफिक प्रहरीलाई सजिलै थाहा पाउन कठिन हुने गरेको छ । मापसे गरेको थाहा भएपनि आधिकारीक प्रमाण नहुदासम्म कारवाही गर्न सक्ने अवस्था नभएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (प्रहरी नायब निरीक्षक) महेन्द्र चन्दले बताउनुभयो । सवारी जाँचका क्रममा कतिपय चालकहरुले मादक पदार्थसमेत सेवन गरेको थाहा हुदाहुदै पनि जाँच गर्ने मेसिन नहुदा धेरै समस्या भएको उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख (इन्स्पेक्टर) राजेश शाहीले तुलसीपुर ट्राफिकसँग ब्रेथ लाइजर मेसिन नभएको कुरा स्विकार गर्नुभएको छ । तर, मर्मतका लागी अन्य विभिन्न निकायसँग समन्वय भइरहेकाले अलि ढिला हुन गएको भन्दै अबको केही दिनमा मेसिन उपलब्ध गराउने उहाँले बताउनुभयो । बिग्रीएका मेसिन मर्मतका लागी अन्य निकायहरुसँग पनि आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।