। दाङमा तोरीको उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले किसानलाई उन्नत जातको बिउ वितरण गरेको छ । सघन बाली वस्तु विशेष व्यावसायिक उत्पादन क्षेत्रमा विकास कार्यक्रम अन्तर्गत जिल्लाका तीनवटा कृषि समूहलाई नौ क्विन्टल उन्नत जातको तोरीको बिउ वितरण गरेको हो । यो वर्ष ९० हेक्टर क्षेत्रफलमा खेती गर्नका लागि उन्नत जातको नौ क्विन्टल तोरीको बिउ वितरण गरिएको कृषि ज्ञान केन्द्र दाङका बरिष्ठ बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले जानकारी दिनुभयो । तोरी खेती गर्नका लागि कम्तिमा ३० हेक्टर क्षेत्रफल भएको र व्यावसायिक खेती गर्ने इच्छुक समूह, फर्म र सहकारीलाई अनुदानका लागि सूचना आह्वान गरेर बिउ वितरण गरेको बताउनुभयो ।

जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलका लागि अनुदान कार्यक्रम भए पनि माग अनुसार किसान नआउँदा ९० हेक्टर क्षेत्रफलका लागि बिउ वितरण गरिएको छ । कार्यक्रम अनुसार बिउसँगै मागका आधारमा मल, कृषि औजार र किसानलाई तालिम समेत प्रदान गरिने छ । अदुवा बाली अनुसन्धान केन्द्र कपुरकोट सल्यानबाट पाँच क्विन्टल मूलबिउ र बाँकी शान्तिनगर गाउँपलिकामा रहेको साउनेपानी किसान सहकारी संस्थाबाट चार क्विन्टल उन्नत जातको बिउ खरिद गरेर किसानलाई प्रतिकट्ठा तीन सयका दरले नौ क्विन्टल बिउ वितरण गरिएको छ । अनुदान प्राप्त गर्नेमा शान्तिनगर गाउँपालिका–१ स्थित सिर्जना कृषक समूह, वडा नं. २ विष्णुपुरमा रहेको समृद्ध नेपाल कृषि तथा पशुपन्छीपालन समूह र घोराही उपमहानगरपालिका–७ घुस्रामा रहेको बहुउद्देश्यीय कृषक समूह रहेका छन् ।