नेपालगन्जमा राम्रो रंगशाला छ। रंगशाला भन्नेबित्तिकै सबैको दिमागमा फुटबल मैदान आइहाल्छ। यद्यपि, रंगशालाभित्र धेरै प्रकारका संरचना हुन्छन्, नेपालगन्जमा पनि छ।

आर्थिक वर्ष २०७५/२०७६ मा नेपालगन्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो। प्रतियोगिताको दौरानमा करोडौँका संरचना बनाइयो। फुटबल मैदानमा मात्रै ३८ लाखको बर्मुडा दुबो रोपियो। त्यतिबेला बर्मुडा दुबोको खुब चर्चा भयो। अहिले भने बर्मुडा दुबो एउटा पनि देख्न सकिँदैन।
संरक्षणको अभावमा स्थानीय दुबो र घाँसले बर्मुडाको अस्तित्व मेटाइदियो। राम्रो प्याराफिट बन्यो। यो पनि संरक्षणकै अभावमा धुलाम्य मात्रै भएको छैन, मक्किसकेको छ।नेपालगन्जबाहिर क्लबहरुले प्रतियोगिता गरे पनि जिल्लामा नियमित अभ्यास हुन सकेको छैन। जिल्लाकै टीम बनाउनु पर्यो भने अभ्यासबिना नै टिपेर बनाउनुपरेको छ। फुटबल संघले हालै जिल्ला लिगहरु (ए र बी डिभिजन) कोहलपुरमा गरेको छ। कतिसम्म भने योबीचमा नेपालगन्ज गोेल्डकपसमेत खजुरामा गरिएको थियो।
बाँके जिल्ला फुटबल संघले फेरि मैदानका लागि चौतर्फी दबाब बढाएको छ। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका प्रमुख महेश चन्दलाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश र केन्द्रमा लबिङ थालेको छ। एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्राविधिक कारण भन्दै रंगशाला उपलब्ध नगराइदिँदा सात वर्षदेखि स्थानीय खेलाडीले अभ्यास गर्न नपाएको बताए।संघले १२ वर्षमुनिका बालबालिकालाई नियमित प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ। त्यसका लागि पनि रंगशाला माग गरेको छ। ‘सय बढी बालबालिका प्रशिक्षणका लागि तयार छन्, मैदान मात्रै उपलब्ध गराइदिनु। प्रशिक्षक, फुटबल सबै आफै ल्याउँछौँभन्दा पनि मैदान पाइएको छैन,’ अध्यक्ष शाहीले भने, ‘अब मैदान उपलब्ध गराउनु पर्छ। प्राविधिक कारण के हो मिलाउनु पर्छ।’
आठौँ राष्ट्रिय खेलकुदका बेला कार्यविधि बनेको थियो। त्यसपछि रंगशालामा सेन्थेटिक ट्रयाक थपिएको छ। बनेर अन्तिममा अवस्थामा पुगेको ट्र्याक उप्किएपछि केही महिनाअघि देशव्यापी चर्चा भएको थियो। ठेकेदारले हस्तान्तरण गरिनसकेकाले राम्रो बनाउन निर्देशन दिइएको छ।